बीउ उत्पादन परिमाणको आधारमा उत्पादकलाई नगद अनुदान

Published Date: 

Monday, June 29, 2020

उन्नत बीउ उत्पादकलाई नगद अनुदान

 आरसी टाइम्स  १४ असार २०७७, आईतवार 7 Views

प्रादेशिक कृषि उत्पादनमा विभिन्न जुक्ती र उपाय अवलम्बन गर्दै उत्पादन बढाउने अभियान स्वरुप सरकारले गुणस्तरीय बीउ उत्पादनमा प्रोत्साहन गर्न बीउ उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ  । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, यन्त्रिकीकरण, व्यवसायीकरण र सिँचाईको सुनिश्चितता गरी उत्पादन र उत्पादकत्व बृद्धि गर्दै आगामी तीन बर्षमा मुख्य मुख्य उत्पादनमा आत्मानिर्भर हुने र पाँच बर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाउने लक्ष्यका साथ कार्यक्रम संचालन गर्ने प्रतिबद्धता व्यक्त भए बमोजिम गुणस्तरयुक्त बीउको उत्पादनका लागि प्रमाणिकरण वा यथार्थ संकेतपत्र पद्धती अपनाउदै बीउ उत्पादनमा किसान परिचालन गरेको प्रादेशिक बीउ विजन प्रयोगशाला पोखराका प्रमुख सुदीप खतिवडाले व्युरोलाई जनाएका छन्  ।

उन्नत स्तरका बीउ उत्पादन परिमाणको आधारमा बीउ उत्पादकलाई नगद अनुदान उपलब्ध गराउन प्रदेश सरकारको गत मंसीर २ गते स्वीकृत कार्यविधि अनुसार बीउ बिजन
प्रयोगशाला, पोखराले बीउ उत्पादन परिमाणको आधारमा नगद अनुदान सूरु गरेको जनाइएको छ  । यस कार्यक्रमले प्रतिस्पर्धात्मक नभई बीउ बिजन प्रमाणिकरण निर्देशिका, २०७४ले निर्दिष्ट गरेका मापदण्डहरुको पालना गर्दै संकेतपत्र जारी गरी बीउ उत्पादन गर्ने सबै उत्पादकहरुलाई कार्यक्रममा समावेश गरिएको बीउ विजन प्रयोगशाला पोखराले जनाएको छ  ।
बीउ उत्पादनको लागि नगद अनुदान पाउनेहरुमा देवचुनी नपा १, नवलपुरको लालिमा कृषि सहकारी संस्थालाई सावित्री, रामधान, सावा मन्सुली धानको बीउ उत्पादन बापत, पोखरा –१३ आर्वाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्थालाई उन्नत बोडी बीउ र पोख्ररेली जेठोबुढो धानको बीउ उत्पादन बापत, फलेबास नपा ५, पर्वतको झकलक कृषि सहकारी संस्थालाई उन्नत जातका मकै (अरुण २, मनकामना ३) बीउ उत्पादन बापत, मध्यबिन्दु नपा ५, नवलपुरको नयाँ बेलहानी फलफुल तथा बीजबृद्धि कृषक समूहलाई धान (रामधान, सावित्री, सावा मन्सुली )
बीउ उत्पादन बापत, पोखरा महानगर –१६को हिमालय कृषक फर्मलाई पोख्ररेली जेठोबुढो उन्नत बीउ उत्पादन बापत, पोखराकै लक्ष्मी एग्रो सेन्टरलाई पोख्ररेली जेठोबुढो धानको उन्नत बीउ उत्पादन बापत नगद अनुदान उपलब्ध गराइएको बताइएको छ  ।

बीउ उत्पादक किसानहरुमा सार्वजनिक आव्हान गरिए अनुसार सम्पर्क दावी र बीउ बिजन
निर्देशिका, २०७४ अनुसार बीउ उत्पादन गरी संकेतपत्र लगाएका आठवटा बीउ उत्पादकहरुबाट प्राप्त आवेदनको स्थलगत मुल्यांकनका आधारमा प्रयोगशालाको प्राविधिक टोली गरेको प्रतिवेदनलाई कृषि बिकास निर्देशनालय, पोखराका प्रमुखको संयोजकत्वमा रहेको मूल्याङ्कन समितिले अनुदानको लागि बीउको बजार मूल्य र बिनियोजित बजेटको आधारमा अनुदान प्रतिशत निर्धारण गरी ६ वटा निवेदकलाई अनुदानका लागि सिफारिस गरिए अनुसार अनुदान वितरण गरिएको जनाइएको छ  । धान, मकै र बोडी बालीका बिभिन्न ८ वटा जातहरुको प्रमाणित र उन्नतस्तरका १६२ मेट्रिक टन ९७५ केजीको लागि रु. ५ लाख ६१ हजार ७३१ रुपैया नगद अनुदान वापतको रकम सम्बन्धित निवेदकको बैंक खाता मार्फत भुक्तान गरिएको जनाइएको छ  । अनुदान पाउने किसानहरुलाई नगद अनुदान वापतको चेक प्रादेशिक कृषि मन्त्री लेख बहादुर थापामगर, कृषि सचिव अच्युत प्रसाद ढकाल र कृषि विकास निर्देशनालयका प्रमुख निलकण्ड पोख्ररेल मार्फत सम्बन्धित बीउ उत्पादकहरुलाई बितरण गरिएको प्रयोगशालाले जनाएको छ  । बीउ उत्पादन परिमाणको आधारमा नगद अनुदान कार्यक्रमले बीउ उत्पादक कृषकहरुलाई अझ बढि उत्साहित, अनुसाशित र निष्ठाका साथ गुणस्तरीय बीउ उत्पादनमा लाग्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ  ।