Published Date
2076-05-04

गण्डकी प्रदेशको सदरमुकाम पोखरामा कृषि वस्तुको विउविजन गुणस्तर मापन र परिक्षण गर्ने प्रयोगशाला सुरु भएको छ । यस पहिले भैरहवामा रहेको प्रयोगशालाको भर पर्नु पर्ने विउ उत्पादक तथा व्यवसायीहरुका लागि पोखरामै विउ विजन प्रयोगशाला सुरु भएबाट शिघ्र सुविधा पाउने सम्भावना बढाएको पोखरा सिड कम्पनिका अध्यक्ष नारायण गौतमले बताए ।

सरकारी स्तरमा कृषि वस्तुको विउ उत्पादन , प्रसोधन र वितरणका लागि स्वीकृति तथा व्यवसायिक अनुमति प्रदान गर्ने निकायका रुपमा रहेको विउविजन प्रयोगशालाले  स्थानीय विउ विजन व्यवस्थापन समिति निर्माण गरि परिचालन गर्न र नियमनका लागि कार्यपात्रो  वनाउन  समेत विउविजन प्रयोगशालाले सहजीकरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रादेशीक सरकारको मातहतमा रहने विउविजन प्रयोगशालाले के कस्ता नितिगत कार्यसम्पादन गर्नेहो भन्ने सम्बन्धमा  प्रदेश सरकारले  तोकेको प्रादेशिक विउ विजन ऐन तथा कार्यविधि अनुसार सञ्चालन हुने भएकाले आगामी प्रदेश सभामा  विउ विजन ऐन मस्यौदा पेशगर्नका लागि मस्यौदा समति पनि  निर्माण गरिएको कार्यलय प्रमुख सुदिप खतिवडाले व्युरोलाई जनाएका छन् । 

प्रादेशिक कृषि सचिव दुर्गाप्रसाद दवाडीको अध्यक्षतामा हालै भएको एक समन्वयात्मक बैठकले  विउ उत्पादक तथा व्यापारी र सरोकारवाला सरकारी प्रतिनिधीको सहभागीतामा प्रादेशिक विउ व्यवस्थापन समिति गठन गर्नाका लागि सफिारिस समिति पनि तयार गरिएको जनाइएको छ ।  आगामी साउन देखिको नयाँ आर्थिक वर्षसँगै पूर्ण क्षमतामा काम सञ्चालन गर्नका लागि व्यवस्थापन समिति र ऐन कानुन तर्जमा गर्नेकामका लागि कृषि मन्त्रालयले  सक्रियता निर्वाह गर्ने कृषि मन्त्री लेख बहादुर थापाले प्रतिवद्धता जनाएका छन् ।

आगामी एक महिना भित्र विउ ऐनको मस्यौदा पेश गर्न , विउ अनुगमन मापदण्ड निर्माण गर्न , मापदण्डले तोकेको निर्देशिका  अनुसार अनुगमन गर्न मन्त्री थापाले निर्देशन गरेका छन् । त्यसै गरि व्यवसायिक उत्पादकहरुले विउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको विउमात्र प्रयोग गर्न मन्त्री थापाले उत्पादकहरुलाई आग्रह गरेका छन् ।

प्रयोगशालाको सक्रियतासँगै प्रादेशिक रुपमा विउ विश्लेषण तथा प्रमाणीकरण , प्रादेशिक विउ उत्पादकहरुको अनुगमन तथा विउ व्यापारिहरुको  नियमन गर्न, रैथाने वालिका प्रजनन विउ संरक्षण तथा  सुचिकृत जातका विउहरुको बजारिकरण गर्नमा प्रयोगशालाको भुमिका रहने बताइएको छ ।

पोखराको पार्दी विरौटामा रहेको पुरानो कृषि कार्यालयको भवनमा सञ्चालन गरिएको विउ प्रयोगशालामा वरिष्ठ वाली बिकास अधिकृतको कमाण्डमा ७ जनाको जनशक्ति कार्यरत छन् । विउ प्रयोग शालाको स्थापनाले किसानको नजिकै सरकारको उपस्थीति देखिएको र अव कसैले आधिकारीक ट्याग विनाको विउ बेचविखन गर्न नपाउने र शुद्ध विउको प्रयोगले कृषि उत्पादनमा बढोत्तरी ल्याउने काममा सहयोग पुग्ने प्रादेशिक कृषि सचिव दवाडीले दावी गरेका छन् ।